लुम्बिनी फोटोग्राफर संघ,रुपन्देहीले आफ्ना कार्यसमितिका सदस्यहरु,क्षेत्रीय संयोजक एवम् सदस्यहरु र महिला तथा युवा उपसमितिका सदस्यहरका लागि एक दिवसीय नेतृत्व तथा संस्थागत विकासका लागि टीम बिल्डिङ्ग तालिम शनिवार बुटवलमा सम्पन्न गरेको छ ।


वार्षिक कार्ययोजना अनुसार सञ्चालन गरिएको उक्त तालिममा सञ्चारकर्मी तथा जेसीसका राष्ट्रिय प्रशिक्षक रमेश अर्यालले नेता,नेतृत्व,नेतृत्व विकासका लागि आवश्यक तत्वहरु र नेतामा हुनुपर्ने गुण एवम् विशेषताका सन्दर्भमा सहजीकरण गरेका थिए ।

सोही तालिमका अर्का प्रशिक्षक एवम् सामाजिक उद्यमी दलबहादुर गुरुङले टीम बिल्डिङ्ग,यसका लागि आवश्यक सीपहरु,अवस्था र प्रभावका बारेमा सहभागीहरुलाई सहजीकरण गरेका थिए ।


तालिम समापन कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल फोटोग्राफर महासंघका केन्द्रीय संयोजक महेन्द्रप्रसाद उपाध्यायले लुम्बिनी फोटोग्राफर संघको इतिहास र वर्तमानलाई ख्याल गरेर भविष्यप्रति उन्मुख हुनुपर्नेमा जोड दिदैं लुम्बिनी फोटोग्राफर संघले आयोजना गरेको तालिम फलदायी रहेको र संस्थालाई अगाडि बढाउन गरिएको यस किसिमका तालिमले सहभागी सबै साथीहरुलाई फाइदा पुग्ने बताउँदै आगामी दिनमा लुम्बिनी फोटोग्राफर संघ देशकै उत्कृष्ट संघ बन्ने सकोस भनी शुभकामना समेत व्यक्त गरेका थिए ।

सोही समापन कार्यक्रममा संघका संस्थापक सचिव माधव पन्थले १४ वर्ष अघि स्थापना गरेको यो संस्थाले गतिशीलता लिएकोमा हार्दिक कृतज्ञता प्रकट गरेका थिए ।साथै उनले तालिमले नयाँ साथीहरुलाई उर्जा थपेको बताए ।

तालिमका बारेमा आफ्ना सिकाई बताउँदै सहभागिहरुका तर्फबाट गीता पंगेनी,मोहन महतो र कृष्ण खनालले खुसी प्रकट गरेका थिए । तालिमले आफ्नो संघलाई जीवन्त र दिगो राख्न सम्भव भएको समेत बताए ।


संघका अध्यक्ष मनीष पन्थले आफ्नो कार्यसमितिले योजनावद्ध तरिकाले कार्यक्रम गर्दै आएको र सबै साथीहरु,सल्लाहकारहरुको सहयोग रहेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्तै सहभागितामूलक सहयोगको अपेक्षा गरेका थिए । साथै उनले आफ्नो संघले निकट भविष्यमै आफ्नै जग्गामा भवन निर्माण गर्ने सुन्दर सपना समेत बाँडेका थिए र सो सपना पूरा गर्न आफू कटिवद्ध रहेको बताए ।

कार्यक्रममा  नेपाल फोटोग्राफर महासंघका केन्द्रिय सदस्य माधव प्रसाद पन्थ, कमला तिवारी, रामचन्द्र वेल्वासे,लुम्बिनी फोटोग्राफर संघका संस्थापक अध्यक्ष तथा सल्लाहकार निलकण्ठ भट्टराईको उपस्थिति रहेको थियो ।
उक्त तालिम कार्यक्रमका संयोजक रबिलाल पौडेलले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न पाएकोमा उत्तम लागेको बताउँदै सबै साथीहरुप्रति धन्यवाद् समेत दिएका थिए । समापन कार्यक्रमको सञ्चालन संघका महासचिव माधव पन्थ रहेका थिए ।