२४ असोज २०७८, आइतवार

 

बुटवलको मोतीपुरमा निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न भएको तनावका कारण कर्फ्यु आदेश जारी भएको छ । पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका- १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको हो । झडपका कारण मोतिपुर क्षेत्र तनावग्रस्त छ । प्रहरीले गोली चलाउँदा केही घाइते भएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको पुष्टि गरे । उनले लोकान्तरसँग भने, ‘जग्गा कब्जा गर्ने र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।’ घटनाको अन्य विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।  अस्थायी रूपमा बनाइएका टहराहरू प्रहरीले भत्काउन खोज्दा झडप भएको हो ।

झडपमा प्रहरीले अत्याधिक बल प्रयोग गरेको र दुई राउण्ड गोली चलाएको स्थानीयवासीले आरोप लगाएका छन्। राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको भनाइ छ ।  बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो ।

प्रशासनले तीन दिनदेखि रातिमा टहराहरू भत्काउँदै आएको थियो। तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आज बल प्रयोग गरेको हो ।  जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले विरोध गरेका थिए । करीब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।

२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । बुटवल उप–महानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति छ ।